चन्द्रागिरिमा हिउँ खेल्न गएर फर्किने क्रममा हराएका ५ जनाको उद्धार   

Chandragiri rescue 7

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जनाकोउद्धार गरेको छ। काठमाडौं चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका पाँच जना घुम्न गएको बेला हराएका थिए।

महानगरीय प्रहरी वृत्त थानकोटले उनीहरुलाई आइतबार मध्यराति फेला पारेको जनाएको छ। हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

हिउँ खेल्न गएका छोराछोरी हराएपछि राति साढे ८ बजे आफन्तले प्रहरीमा खबर गरेका थिए।

उनीहरूको खोजीमा प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेय र महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन गुल्म सामाखुसीसमेत गरी ३७ जनाको टोली खोजी कार्यमा जुटेको थियो।

पाँच घण्टाको लामो खोजी पश्चात् उनीहरूलाई चन्द्रागिरी जंगलबाट सोमबार बिहान सवा १ बजे फेला पारेको प्रहरीले जनाएको छ। उनीहरूलाई आफन्तको जिम्मा लगाइएको छ।

 

प्रतिकृया दिनुहोस