सुनसरीको खुनिया खोला पुलमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु

Sunsari accident

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका र भोक्राहानरसिंह गाउँपालिकाको सिमानामा रहेको खुनिया पुलमा ट्रक र बस ठोक्किँदा तीन जनाको जलेर मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका-३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नम्बरको बस ठोक्किएका थिए ।

झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक साँझ ७ः३५ बजेतिर ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन् ।

दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् ।

उनीहरूको अवस्था सामान्य रहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तीनवटै शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । दुर्घटनापछि बस र ट्रकमा आगलागी हुँदा उद्धारमा समस्या भएको थियो । आगलागीका कारण उद्धार गर्न नसक्दा बस र ट्रकभित्रै जलेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरीले स्थानीयको सहयोग लिएर घाइतेहरुको उद्धार थालेको थियो । स्थानीयको साथ लिँदै उद्धारमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी खटिएका थिए । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरी र नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी अरुणकुमार बीसीले सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गर्दै घाइतेको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस