‘भ्यालेन्टाइन डे’ आउनै लाग्दा गुलाबको माग बढ्यो  

Red p 060117

काठमाडौँ । स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यस वर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ । कारोना सङ्क्रमणका कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुवातदेखि घाम नलागेका कारण यस वर्ष रातो गुलाब उत्पादनमा कमी आएकाले आयात वृद्धि गर्नुपर्ने भएको हो ।

प्रेमको प्रतीक मानिने रातो गुलाबको गएको वर्ष एक लाख ८० हजार स्टिक बजार माग रहेको थियो भने यस वर्ष बजार माग ५० हजार स्टिकले बढी भएको छ । अघिल्लो वर्ष बजार मागको २० प्रतिशत स्वदेशी उत्पादन थियो । अहिले मागको दश प्रतिशतमात्र धान्ने अवस्था रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार यस वर्ष दुई लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । हरेक वर्ष दुई करोड रुपैयाँ बराबरको गुलाबको आर्थिक कारोबार हुने गरेको छ । यसरी ल्याइने फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुन्छ ।  यस वर्ष उपभोक्ताले गुलाबप्रति स्टिक ८० देखि एक सय रुपैयाँसम्ममा खरिद गर्नुपर्ने बताइएको छ ।

यो मूल्य विगतमा भन्दा बढी हो । हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ । नेपालमा वार्षिक रूपमा डेढ अर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ । तिहारमा मात्र सात करोड रुपैयाँको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी झन्डै पाँच करोड रुपैयाँको फूल वार्षिक रूपमा आयात हुने गरेको छ ।

मुख्यगरी कात्तिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको छ । प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ । तिहारको समयमा अस्ट्रेलिया र मलेसियामा तिहारमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।

पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा झन्डै एक हजार ४७ हेक्टर क्षेत्रफलमा ६ सय प्रजातिका फूल उत्पादन हुने गरेको छ । व्यावसायिक रूपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । जसमा रातो गुलाब १२ प्रजातिको खेती हुने गरेको छ । 

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा झन्डै साढे सय ६ सय पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।

वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग थियो । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला रहेका छन् । लामो समयदेखि कोरोना भाइरस सङ्क्रमणका कारण दैनिक एक करोड रुपैयाँको नोक्सान बेहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब ७० लाख रुपैयाँको कारोबार गर्न थालेको छ ।

कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्कक्रमण पनि बिस्तारै कम हुँदै गइरहेकाले यस व्यवसायले गति समाएको हो । कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय बिस्तारै तङ्ग्रिन थालेको छ । कोरोना सङ्क्रमण त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय बिस्तारै खुला हुन थालेसँगै यस व्यवसायले पनि लय लिएको छ । 

 

प्रतिकृया दिनुहोस