चिसो बढेसँगै देशैभर वायु प्रदूषण बढ्दै, सबैभन्दा धेरै पोखरामा

Pokhara pollution

काठमाडौँ । लगातार न्यूनतम तापक्रममा कमी आएसँगै पछिल्लो सातादेखि देशैभरका वायु प्रदूषण बढ्दै गएको छ । वातावरण विभागका अनुसार बिहीबार पोखराको वायु प्रदूषण सबैभन्दा उच्च छ ।

विभागको तथ्याङ्क अनुसार देशैभरका वायु प्रदूषणको दर उच्च हुँदा वायु गुणस्तरमा कमी आएको छ । पोखरामा २१२, भरतपुर १९८, दाङ १६६, नेपालगन्ज १६५, सुर्खेत १६४, संखपार्क १६३ र सिमरा १५७ माइक्रोग्राम प्रति घनमिटर बिहीबार मापन भएको छ ।

सरकारले २४ घण्टामा वायुको गुणस्तरलाई ४० माइक्रोग्राम प्रति घनमिटरसम्मलाई राष्ट्रिय मापदण्ड तोकेको छ । यता विश्व स्वास्थ्य सङ्गठनले भने २५ माइक्रोग्राम प्रति घनमिटरसम्मलाई अन्तर्राष्ट्रिय मापदण्ड तोकेको छ ।

वातावरण विभागको तथ्याङ्क अनुसार पार्टिकुलेट म्याटर २।५ माइक्रोनको धुलोको प्रदूषण २४ घण्टामा पोखरामा २१२ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ । यस हिउँदमा पोखरा क्षेत्रको वायु प्रदूषणको दर उच्च भएको छ । अन्य समयमा तराईका मुख्य सहरहरूमा वायु प्रदूषणको दर उच्च हुने गरे पनि यस वर्ष भने पोखराको वायु प्रदूषणको दर मानव शरीरका लागि अति नै हानिकारक भएको हो । देशका अन्य सहरहरूको वायु पनि हानिकारक रहेको पाइएको छ ।

पछिल्लो साता न्यूनतम तापक्रममा कमी आएसँगै वायु प्रदूषण पनि उच्च भएको हो । बिहीबार न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस थियो । यता सबैभन्दा कम जुम्लामा ०.८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

वायुको गुणस्तर स्वास्थ्यका लागि अति हानिकारक तहमा पुगेको भन्दै वातावरण विभागले आवश्यकता विना बाहिरी क्षेत्रमा हिँडडुल नगर्न अनुरोध गरेको वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस