त्रिभुवन विमानस्थलबाट अवैध सुन र मोबाइलसहित ३ जना पक्राउ

Mobile and gold phone sun

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन र मोवाइल सहित तीन जनालाई पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी टोलीले संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह‚ मनहरी–७ मकवानपुरका नवराज परियार र भोटेकोसी–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट १ केजी १ सय ५५ ग्राम सुन र चारवटा आइफोन बरामद गरेको हो ।

हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट बिहीबार पक्राउ गरेको हो ।

बरामद सुन र आइफोनको मूल्य करिब १ करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत बिहीबार त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।

प्रहरीले साहको साथबाट चारवटा आइफोन १३ प्रो.म्याक्स तथा एक-एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ ।

यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस