सभामुखलाई हटाउन कांग्रेस महाआभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी

Top bahadur

काठमाडौँ । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताए ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् । उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यसबारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए ।

सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए । उनले संसद्को काम कारबाहीलाई सञ्चालनमा ल्याउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने समेत बताए ।

सचिव रायमाझीले भने, ‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । सरकारमा रहेका पार्टीहरु, महागठबन्धनले के गर्छ ? त्यो कुरा टुङ्गो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन । सरकारले आफ्नो पोजिसन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लगाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौँ ।’

सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए । उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै पार्टीले आउँदो निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए । 

प्रतिकृया दिनुहोस