निवेदन दिएको ३५ दिनभित्र चितवनका सुकुम्वासीले लालपुर्जा पाउने  

Vumi   aayog chitawan

काठमाडौँ । कयौँ पटकको राजनीतिक परिवर्तन र त्यसपछि बनेका सुकुम्वासी आयोगले लालपुर्जा नदिएर भूमिहीन बन्न पुगेका चितवनका सुकुम्वासीहरुले ३५ दिनमै लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोगले चितवनका तीन वटा स्थानीय तहमा लालपुर्जा दिने गरी काम सुरु गरेको हो ।

कुनै अवरोध नभए निवेदन दिएको ३५ दिनभित्र चितवनका सुकुम्वासीहरुले लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष नहिँन्द्र खड्काका अनुसार गठन आदेश संशोधन गरेर सरल विधिबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई बढीमा ३५ दिनभित्र लालपुर्जा दिनेगरी काम सुरु भएको बताए ।

अहिले वितरण गरिने लालपुर्जा कुनै सेतो पुर्जा नहुने तर १० वर्षसम्म जग्गा विक्री गर्न नपाउने गरी छाप लगाएर वितरण गरिने बताए । अब कुनै पनि भूमि आयोग बनाउनै नपर्ने गरी काम थालेको उनको भनाइ छ ।

छुटेकाहरुको निवेदन लिने, निवेदन दिएकाहरुको जग्गा नापजाँच गर्ने, जग्गा नापजाँच भइसकेकाहरुको पुन प्रमाणीकरण गरेर नक्सा बनाउने काम तत्काल सुरु हुनेछ । चितवनको माडी नगरपालिकाको बाँदरझुलाका ७ सय घरपरिवारले समेत लालपुर्जा पाउने उपाध्यक्ष खड्काको दावी छ ।

चितवनका तीन वटा स्थानीय तहमा लालपुर्जा वितरणको काम सुरु भएको बताउँछन् भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सेना । समयमै लालपुर्जा दिन जिल्लामा २७ जना अमिन र ९ जना सर्वेक्षक गरी ३६ जना खटिनेछन् ।

भरतपुर महानगरपालिका भित्रका सुकुम्वासीहरुलाई लालपुर्जा दिन जग्गा नापमा सहयोग गर्ने प्राविधिकहरुलाई अभिमुखीकरण समेत गरिएको छ । महानगरभित्रका १० हजार २९ जना सुकुम्वासीलाई लालपुर्जा दिन वडानम्वर १४ बाट निस्सा दिएर काम सुरु भएको छ । महानगरको ६ वटा वडामा प्राविधिकहरुले जग्गा नाप्न सुरु गर्नेछन् । चुनावी प्रतिवद्धता समेत पूरा गर्ने अवसर आएको भन्दै जनप्रतिनिधिहरुले खुसी व्यक्त गरेका छन् ।

सुकुम्वासीका नाउँमा हुकुम्वासीले जग्गा नपाउन, सबैले चनाखो भई काम गर्न जरुरी छ । त्यतिमात्रै होइन स्थानीय तहको निर्वाचन मिति घोषणाको तयारी भइरहँदा कतै चुनावी फण्डामात्रै त होइन भनेर स्वयम् सुकुम्बासीहरुले समेत चिन्ता जनाएका छन् । त्यसैले चाँडै लालपुर्जा दिनेगरी काम भए वर्षौसम्म आन्दोलनरत उनीहरुले सुखको सास फेर्न पाउँथे कि !

प्रतिकृया दिनुहोस