स्थानीय निर्वाचनको आन्तरिक तयारीमा जुट्यो आयोग

Nirbachan aayog 1594289318

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेपछि तयारी थालेको हो ।

प्रधानमन्त्री देउवाले आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने बताएपछि चुनावी माहौल तातिँदै गएको छ । सरकारबाट मिति घोषणाको प्रतीक्षा गरेको आयोगले चुनावी कार्यतालिका बनाउन थालेको छ । सरकारले निर्वाचनको मिति तोकेपछि बढीमा तीन दिनभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

‘चुनावको मिति घोषणा भएको दुई तीन दिनभित्र कार्यतालिका आउँने बताउँदै पौडेलले चुनावको मिति घोषणा भएदेखि मतदानको दिनसम्म के के भन्ने कुराको कार्यतालिकामा हुने जानकारी दिए । उनले भने– ‘अहिले हामी आन्तरिक गृहकार्य गरिरहेका छौँ । निर्वाचनको मिति घोषणा नभई निर्वाचन कार्यतालिका ल्याउन मिल्दैन । निर्वाचनको मिति घोषणापछि अर्थ मन्त्रालयमार्फत बजेट पास गर्नुपर्छ । यी सबै कुरा मिति घोषणा गरेपछि हुन्छ । मिति घोषणा गर्नुभन्दा अगाडि गर्नुपर्ने काम गरिरहेका छौँ ।’

स्थानीय तहको निर्वाचनका लागि कति दिने आचारसंहिता जारी गर्ने भन्ने अहिले नै जानकारी दिन नसकिने आयोगले जनाएको छ । आचारसंहिताका लागि समय तोक्दा बदलिँदो परिस्थितिलाई मध्यनजर गर्नुपर्ने हुँदा निर्वाचनको जोखिम र गम्भीरता विश्लेषण गरेर आयोगले आचारसंहिता जारी गर्नसक्नेछ ।

निर्वाचनको मितिका सन्दर्भमा सरकारसँग बिग्रेको सम्बन्ध सुधार्न आचारसंहिताको समय कम राख्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रणनीति लिएको बुझिएको छ । निर्वाचनको मिति तोक्न वक्तव्यबाजी गरेको भन्दै थपलियासँग सत्तापक्ष चिढिएको अवस्थामा निर्वाचन हुन ३५ दिन, ४० दिन वा ५० दिन बाँकी रहँदा आचारसंहिता लगाउने आयोगको तयारी छ ।

प्रवक्ता पौडेलका अनुसार आचारसंहिता कहिलेदेखि लाग्ने भन्ने कुरा निर्वाचन कार्यतालिकामा आउँछ । यसअघि सरकार, राजनीतिक दल र मिडियासँग आवश्यक राय सल्लाह गरेर मात्र आयोगले काम गर्ने उनले बताए ।

 

प्रतिकृया दिनुहोस