नेपाल टेलिकमद्वारा ‘अन्तरदेशीय आबद्धता शुल्क’ समायोजन

Ntc

काठमाडौँ । नेपाल टेलिकमले कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने अन्तर आबद्धता शुल्क समायोजन गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी अन्तर आबद्धता निर्देशिका अन्तर्गत अन्तरदेशीय अन्तर आबद्धता प्रावधानअनुसार शुल्क समायोजन गरेको हो ।

टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू हुने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा प्राधिकरणले माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भई आएकोले परिमार्जित महशुलदर माघ १८ गते कार्यान्वयनमा ल्याएको हो ।

नयाँ अन्तरदेशीय अन्तर आबद्धता कार्यान्वयन भएपश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागू हुने महशुल दर परिमार्जन भई शुल्कमा कमी आउने कम्पनीले जनाएको छ ।

कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र कायम हुनेछ । यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ आठ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम हुनेछ ।

साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम हुने कम्पनीले जनाएको छ ।
  

प्रतिकृया दिनुहोस