नक्कली पीसीआर रिपोर्ट बेच्ने दुई अस्पतालका ४ ल्याब टेक्निसियन पक्राउ

Fake pcr hospital

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट बेच्ने ४ जना ल्याब टेक्निसियनलाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरूबाट पैसा लिई नेगेटिभ पीसीआर रिपोर्ट बनाएर बेचेको आरोपमा भक्तपुरको नागरिक कम्युनिटी अस्पताल र तीनकुनेको कान्तिपुर अस्पतालका ४ जना ल्याब टेक्निसियनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई आजै सार्वजनिक गरिने भएको छ । साथै महानगरीय अपराध महाशाखाले ती दुई अस्पतालमाथि अनुसन्धान बढाएको छ । अस्पतालले फोटोको आधारमा पीसीआर रिपोर्ट तयार गरी १५ हजार रुपैयाँमा बेचेको प्रमाण भेटिएको महाशाखाले जनाएको छ । कोरोना सङ्क्रमण पोजेटिभ आएर विदेश जान नपाएका व्यक्तिलाई नेगेटिभ पीसीआर रिपोर्ट दिएको प्रहरीले प्रमाण फेला पारेको हो ।

कोरोना सङ्क्रमण पोजेटिभ आएकाहरूलाई पनि नेगेटिभ रिपोर्ट बेचेको जानकारी आएपछि महाशाखाले अनुसन्धान थालेको थियो । महाशाखाको टोली अस्पतालमा पुगेरै अनुसन्धान गरेको हो । प्रहरी पुगेको खबर पाएपछि दुवै अस्पतालका सञ्चालक फरार छन् । ल्याबमा कार्यरत कर्मचारी र नेगेटिभ रिपोर्ट दिने भन्दै ग्राहक ल्याउने बिचौलियालाई महाशाखाले पक्राउ गरेको छ ।

 

प्रतिकृया दिनुहोस