देउवाले बोलाए सर्वदलीय बैठक, एमसीसीको विषयमा पनि छलफल हुने

Sher bahadur deuba 08

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको विषय भने खुलाइएको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

सर्वदलीय बैठक बोलाउनुअघि प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलका प्रमुखहरुसँग छलफल गरेका थिए । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । सो छलफलम सर्वदलीय बैठक बोलाउनेबारे कुरा भएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्न लागेका हुन् ।

सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । तर नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।

त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा छन् ।

उता एमाले विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरोध जारी राखेपछि सरकारलाई विधेयकहरु पारित गराउन समस्या भएको छ । त्यसैले प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकबाटै यी विषयलाई टुंगो लगाउने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस