आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने

Himpat vayo

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल प्रदेश नं १ र बाँकी पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रही देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ तथा बाँकी पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी आज राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशको मौसममा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

भोलि (शुक्रबार) बाट नेपालमा मौसम प्रतिकूल हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार बिहानबाट सुदूरपश्चिम हुँदै पूर्वतिर बादल सर्नेछ । सो क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । ‘उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ। आउँदो शनिवार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ ।’ महाशाखाले भनेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।

प्रतिकृया दिनुहोस