नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन

Bimala kc karnali president

सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन भएकी छन् । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो ।

वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरे पनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो ।

निवर्तमान अध्यक्ष राजकुमार शर्मा र पुर्वमुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाही पनि अध्यक्षका दाबेदार थिए । प्रदेश अध्यक्ष बन्न केन्द्रीय र प्रदेश सदस्यहरुले पनि आकांक्षा देखाएका थिए । तर, केन्द्रीय सदस्यले प्रदेशमा अरुलाई नै जिम्मेवारी छोड्ने माओवादी केन्द्रको स्थायी समितिको पछिल्लो निर्णय अनुसार नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य झकबहादुर मल्लले जानकारी दिए ।

अन्य पदाधिकारी भने अझै टुंगो लागेको छैन, अर्को बैठकले टुंगो लगाउनेछ । अध्यक्षमा चयन भएकी केसी कर्णाली प्रदेश सरकारको पूर्वमन्त्री समेत हुन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कर्णाली प्रदेश इन्चार्जसमेत रहेकी केसी माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस