ओलीले भने, ज्ञानेन्द्र शाह र प्रचण्डबीच ५ बुँदे सहमति भएपछि ‘कु’ भयो

‘प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनीसँग एकीकरण सम्भव नै छैन’

Kp oli chitwan

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति गरेको दाबी गरेका छन् ।

अध्यक्ष ओलीले २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ दाबी गरेका छन् । फौजदारी न्याय सिद्धान्तमा आरोप जसले लगाउँछ, प्रमाणको भार पनि उसैमा निहित हुन्छ । तर, एमाले अध्यक्ष ओलीले भने यो आरोपको ‘फ्याक्ट’ चेक गर्ने जिम्मा आफूले नलिई ज्ञानेन्द्र र प्रचण्डलाई नै छाडेका छन् ।

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सहमतिपत्रमा के के उल्लेख भएको थियो भन्ने खुलिनसकेको भन्दै उनले भने, ‘त्यो पाँच बुँदेमा के थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्‍यो, कि प्रचण्डले ।’ प्रचण्डको सहमतिमा ज्ञानेन्द्रले देशमा निरंकुशता ल्याएको भन्दै ओलीले भने, ‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गरे ।’

पाँच बुँदे सहमतिपछि ज्ञानेन्द्रले देशभर नागरिक अभिनन्दनको कार्यक्रम गर्दै देश दौडाहामा निस्किएको ओलीको आरोप छ । ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएपछि ज्ञानेन्द्रले देशव्यापी अभिनन्दन कार्यक्रम चलाएको ओलीले बताए ।

उनले भने, ‘त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए देशव्यापीरुपमा । लोकतान्त्रिक शक्ति रुकुम, रोल्पामा पाइलो टेक्न नसक्ने, नेताहरू जान नपाउने, त्यहाँ भएका नेताहरू मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धूमधाम स्वागत हुने । विराटनगर, यहीँ काठमाडौँमा पनि हामीले देख्यौँ, थापाथलीदेखि हिँडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्ने ?’

अध्यक्ष ओलीले आगामी चुनावमा वामपन्थी शक्तिसँग एकता वा तालमेल होला कि भन्ने आफ्नै पार्टीका नेताहरूको आशालाई ‘भ्रम’को संज्ञा दिएका छन् । ओलीले सम्बोधनमा प्रष्ट शब्दमा भने, ‘अझै कतिपय साथीहरूमा कम्युनिस्ट एकता भन्ने छ । प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी, अस्थिरताका संवाहक तत्त्वहरू हुन् । कुनै भ्रम राख्नुपर्दैन, त्यस्ताहरूसँग एकता गरेर कहीँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन ।’

 

प्रतिकृया दिनुहोस