गगन थापाले भने, शेरबहादुर देउवा सबैको पार्टी सभापति हो

Gagan thapa 2021

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कम्युनिष्ट पार्टीहरु नमिले मात्रै कांग्रेस पहिलो पार्टी बन्ने अवस्था रहेको बताएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गरेर अघि बढ्ने बताएका छन् ।

थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताए । महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेका कारण आफूहरु सबैको सभापति भएको उनले बताए ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर कोइराला समूहले बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्रीका उम्मेदवार थापाले आफूले दुबै चरणमा देउवालाई मत नदिए भन्दै अघि भने, ‘तर निर्वाचित भएपछि उहाँ हामी सबैको सभापति हो ।’

उनले कांग्रेसलाई कम्युनिष्ट पार्टीहरु मिल्दा पनि जित्न सक्ने बनाउनका लागि नयाँ मतदाताहरु आकर्षित गर्नुपर्ने बताएका थिए । कम्युनिष्ट पार्टीहरुसँग कांग्रेसले भर पर्न नहुने बताउँदै उनीहरुले जुनसुकै समयमा कांग्रेस विरुद्ध मोर्चाबन्दी गर्न सक्ने बताए ।

उनले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा खुशी प्रकट गरे । आफूहरुले यही लोकतान्त्रिक अभ्यास खोजेको पनि उनले प्रस्ट पारे । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सभापति पदका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा पाँच घण्टासम्म बसेर मतदातासँग भोट मागेको उनले सुनाए । आफू पनि शेखर कोइरालाको आडमा बसेर त्यो बेला मत मागिरहेको उनले बताए ।

 

 

प्रतिकृया दिनुहोस