सभापतिको निर्वाचनमा दोस्रो चरणको मतगणना सुरु, तीन घण्टाभित्र नतिजा आइसक्ने

Congress matganana

काठमाडौं । नेपाली काँग्रेसको नयाँ सभापति चयनका लागि मंगलबार भएको पुनः मतदानको मतगणना सुरु भएको छ । राति साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भए पनि केही ढिला गरी मतगणना सुरु भएको हो ।

राष्ट्रियसभा गृहमा भर्खर मतगणना सुरु भएको हो । दोस्रो चरणको निर्वाचनमा शेरहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन् ।

अबको तीन घण्टाभित्र नतिजा आइसक्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतपत्र एकै किसिमको मात्र रहेकाले सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने समितिको भनाइ छ ।

काँग्रेसमा राष्ट्रियसभा गृहमा दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने शीर्ष दुई उम्मेदवार प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा।शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

सोमबारको मतदानमा देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

सोमबारको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेका थिएनन् ।

पदाधिकारी र सदस्यहरूको मतगणना भने सभापतिको मतगणना सकिएपछि सानेपामा गरिनेछ । कांग्रेस महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

 

प्रतिकृया दिनुहोस