एमाले सांसदले गरे बैठक अवरुद्ध, संसद बैठक एक हप्ताका लागि स्थगित

Samsad baithak 2 scaled

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका छन् । मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

आफूले कारबाही गरेका सांसदहरूलाई सभामुखले कारबाहीको सूची टाँस नगरेको भन्दै एमालेले संसद पुनर्स्थापनादेखि नै विरोध गर्दै आएको छ । अध्यादेश पेसपछि पनि एमाले सांसदको विरोध नरोकिएपछि सभामुख सापकोटाले बैठक पुस ६ गतेसम्मका लागि स्थगित गरेका छन् ।

संसदको यो अधिवेशनमा पनि प्रमुख विपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।

मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी, तेजाब तथा रासायनिक पदार्थको नियमन, सामाजिक सुरक्षा, रेल्वे, यौन हिंसा तथा फौजदारी कार्यबिधीसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश बैठकमा पेस गरेका हुन् ।

त्यस्तै रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ ।संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ ।

 

प्रतिकृया दिनुहोस