काठमाडौंको तापक्रम घटेको घट्यै, चिसो अझैं बढ्ने

Chiso student

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम आज पनि घटेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम आज ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

न्यूनतम तापक्रम अझ घट्ने सम्भावना छ । बिहान पौने ९ बजेको मापनमा न्यूनतम तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनकाअनुसार बिहान ६ बजे अघि भन्दा त्यस पछि चिसो धेरै हुन्छ ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस थियो । यस्तै, आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। यसले गर्दा चिसो हावा चल्न थालेको छ भने आज पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ ।

यो प्रणालीका कारण कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा आज मौसम बद्ली हुने मौसमविद् मानन्धरले बताइन् ।

मौसमविद् मानन्धरका अनुसार यसको प्रभावले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिक बद्ली हुने सम्भावना छ । भोलिदेखि यो प्रणाली हटेर जाने मौसमविद्ले बताएका छन् ।

प्रतिकृया दिनुहोस