लुम्बिनीमा पौडेल पक्षीय अमरसिंह पुनमगर ८५ मतान्तरले विजयी

Amarsingh pun

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् ।

पार्टी सभापति देउवासहित केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलगायत नेताहरू भरतकुमार शाहलाई जिताउन अन्तिमसम्म खटिएका थिए ।
रोल्पा कांग्रेसका निवर्तमान सभापति, पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य पुनले ८५ मतान्तरले सार्वजनिक लेखा समितिका सभापति, पूर्वराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य शाहलाई पराजित गरेका हुन् ।

सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाए । निर्वाचनमा १६ सय ३१ मत खसेको थियो । सभापतिमा निर्वाचित पुन पूर्व राज्यमन्त्री, संविधान सदस्य एवं नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् ।

पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन् । दुई उपसभापतिमा संस्थापन इतरका भुवन श्रेष्ठ र संस्थापन पक्षका राजु खनाल विजयी भएका छन् । संस्थापन इतरका रुपन्देहीका अष्टभुजा पाठक र संस्थापनका सुधाकर पाण्डे पराजित भए ।

यस्तै महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य विजयी भएका निर्वाचन समितिका सदस्य अधिवक्ता जीवनारायण अधिकारीले जानकारी दिए । महामन्त्रीमा संस्थापनका खिमानसिंह रायमाझी र जन्मजय तिमिल्सेना पराजित भए ।

महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भएकी छन् । उनले संस्थापन पक्षकी सरिता चौधरीलाई पराजित गरिन् । खुल्ला सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान र दाङका खगराज पाण्डे विजयी भए । शनिबार भएको मतदानको परिणाम आउन दुई दिन लागेको हो ।

प्रतिकृया दिनुहोस