आज कांग्रेसले सात प्रदेशमा प्रदेश सम्मेलन गर्दै, देउवाले भर्चुअल उद्घाटन गर्ने

Nepali congress

काठमाडौं । नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ ।

अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ ।

प्रदेश-१ को अधिवेशन विराटनगरमा, प्रदेश-२ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रदेश अधिवेशनका लागि तीनरतीन जनाका दरले २१ जना अधिकृत तोकिएको कांग्रेस निर्वाचन समितिले छ । देश सङ्घीयतामा गएपछि कांग्रेसले सङ्गठन संरचना वडा, पालिका, प्रतिनिधि सभारप्रदेश क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएको छ ।

हिजोसम्ममा कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । बाँकी रहेका १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि हुनेछ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार आजदेखि प्रदेश अधिवेशन सुरु हुने भएकाले ती जिल्लामा नेतृत्व चयन महाधिवेशन सकिएपछि मात्र हुनेछ ।

नेतृत्व चयन भएकामध्ये ३२ जिल्लामा संस्थापन पक्षका सभापति चयन भएका छन् । २७ जिल्लामा संस्थापन इतर समूह र दुई जिल्लामा नेता कृष्णप्रसाद सिटौला पक्षका सभापति चयन भएका छन् । कांग्रेसले पालिका र प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको थियो ।

अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बाँके, कैलाली र अछाम छन् । यी जिल्लाबाट महाधिवेशन प्रतिनिधि भने चयन भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन आउँदो २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

प्रतिकृया दिनुहोस