गठबन्धन आउँदो चुनावसम्म जान्छ : ऊर्जामन्त्री भुसाल

261591372 448764716614801 947246262456616810 n

लमजुङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारमा रहेका पाँच दलीय गठबन्धन आउँदो चुनावसम्म जाने बताइन् ।

नेकपा माओवादी केन्द्र दोर्दी गाउँपालिका लमजुङको प्रथम पालिका अधिवेशन घोषणा सभालाई आज बुधवार सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताइन् ।

राष्ट्रियता, संविधान र नागरिकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनाइएको उनको भनाइ छ । ‘प्रति क्रान्तिको खतरा हुँदासम्म हामी परिवर्तनका शक्तिहरूले राष्ट्रियता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सहमति गरेका छौँ । पाँच दलीय गठबन्धनको सरकार छ ।’, उनले भनिन्, ‘अहिले केन्द्र र सात वटै प्रदेशमा गठबन्धनको सरकार छ ।’

आवश्यक पर्दा आउँदो चुनावसम्म गठबन्धन मोर्चा बनाएर अघि जाने सोचमा रहेको उनले बताइन् । ‘ठूलो मूल्य चुकाएर ल्याएको नेपालको परिवर्तन रक्षा र त्यसका अगाडि आउन सक्ने प्रतिगमन, प्रति क्रान्तिलाई पराजित गर्न त्यो आवश्यकता महसुस गरिएको र सहकार्यद्वारा अघि बढ्ने गठबन्धनको प्रतिबद्धता रहेको छ’, उनले भनिन् ।

पालिका अधिवेशनले नेकपा माओवादी केन्द्र दोर्दी गाउँ समितिको अध्यक्षमा सागर गुरुङलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा रविन्द्र अधिकारी (लमजुङ), चिनबहादुर गुरुङ, आरती गुरुङ, सचिवमा सोमराज गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा शान्ता विक र अन्य सदस्यमा चयन भएका छन् । 

प्रतिकृया दिनुहोस