बलात्कार घटना भएको एक साता बितिसक्दा पनि पक्राउ परेनन् आरोपी

Rape victim

म्याग्दी । बेनी नगरपालिका–५ की २५ वर्षीया महिला छोराछोरीसहित घरमै सुतिरहेका बेला बलात्कृत भएको एक साताभन्दा बढी भइसक्दा पनि आरोपीलाई प्रहरीले पक्राउ नगरेको पीडितले गुनासो गरेकी छन्।

कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको किटानी जाहेरी दिएको एक साता बितिसक्दा समेत आरोपी पक्राउ नपरेको पीडित महिलाले बताएकी हुन्।

ती महिलाले आफू घर फर्किन नसक्ने अवस्था आएको भन्दै न्यायका लागि अपिल गरेकी छन्। स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोका ढकढक्याउँदै सहयोग मागेजस्तै गरी घरभित्र पसेर पालैपालो बलात्कार गरेको ती महिलाको आरोप छ। ‘मैले घरभित्र प्रवेश गर्न नदिएपछि झ्याल फोडी भित्र पसेर छोराछोरीलाई कुटपिट गरे अनि मलाई पालैपालो बलात्कार गरे,’ उनले भनेकी छन्।

घटनाको दुई दिनसम्म महिलालाई पीडकका आफन्तले अघोषित रुपमा गाउँबाट बेनीसम्म आउन नदिएको समेत महिलाको आरोप छ। घटनाको दुई दिनपछि कात्तिक ४ मा प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै घटना सार्वजनिक भएको थियो।

पीडित महिलालाई अहिले सदरमुकाम बेनीबजारमा रहेको हिंसापीडित आश्रममा राखिएको छ। आफूमाथिको अन्यायविरुद्ध लड्न आफैं जागेकी महिलाले घटनाको एक साता बितिसक्दा पनि घटनामा संलग्न पक्राउ नपरेकोमा उनी थप त्रसित भएकी छन्। पीडित महिलाका श्रीमान खाडीमुलुकमा रोजगारीमा छन्।

पीडित महिलालाई प्रलोभनमा पारी‚ धम्क्याई घटनालाई तोडमोड गर्ने चिनजान, छरछिमेक र आफन्त नै सक्रिय भएको बताइएको छ। यता फरार आरोपितको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।

‘घटनाको अनुसन्धान अगाडि बढिसक्यो, अब आर्थिकसहितको प्रलोभनले मुद्दा कमजोर हुँदैन,’ प्रनाउ राईले भने। उनले बलात्कारजस्तो अपराधमा संलग्नलाई उम्कन नदिने समेत प्रतिवद्धता जाहेर गरे। तीनजना नै मोबाइल बन्द गरेर फरार भइसकेको अवस्थामा फोटोसहित सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरिएको समेत उनले जानकारी दिएका छन्।

   

प्रतिकृया दिनुहोस