प्रधानन्यायाधीशलाई  इजलासमा नबस्न माग गर्दै सर्वोच्च र बार परिसरमा विरोध प्रदर्शन 

Court supreme

काठमाडौँ । नेपाल बार एसोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई इजलासमा नबस्न माग गर्दै सर्वोच्च अदालत परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्दै छ। घोषित कार्यक्रमअनुसार बार एसोसियसनले आज कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्ने भएको हो।

बारले आजदेखि प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनलाई आक्रमक बनाउने भएको छ। प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन्।

प्रधानन्यायाधीश राणाले इजलास तोके पनि सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएक छन्। आन्दोलित न्यायाधीशहरुको समर्थनमा बारले समेत सर्वोच्चमा तोकिएको इजलासमा बहस गरेको छैन। न्यायालयको विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै बार र सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका छन्। बारले कार्तिक १७ गतेसम्म प्रत्येक दिन सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
आफ्नै समकक्षी र बारको दबाबमा परे पनि प्रधानन्यायाधीश राणा तसको मस भएका छैनन्।

यसैबीच प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनरत सर्वोच्चका न्यायाधीश र नेपाल बार एसोसियसनविरुद्ध स्वतन्त्र कानुन व्यवसायीहरु पनि आन्दोलनमा उत्रेका छन्।

स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले गैरकानुनी हिरासत र थुनामा राखिएकाहरुको बन्दी प्रत्यक्षीकरण रिट, थुनुवाका मुद्दासमेत नहेर्ने न्यायाधीशहरूविरुद्ध सर्वोच्च अदालत र बार एसोसियसन परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्ने भएको हो।

बिहान १० बजेदेखि कालोपट्टि बाँधेर इजलास नजाने न्यायाधीश र बहस नगर्ने बार विरुद्ध प्रदर्शन गर्ने भएको अभियानले जनाएको छ।

प्रतिकृया दिनुहोस