वाग्मती सफाइ महाअभियानमा बढ्न थाल्यो सहभागिता

Rt 1

काठमाडौँ । कोरोना महामारीको जोखिम कम भएसँगै वाग्मती सफाइ महाअभियानमा अभियानकर्मीको सहभागिता बढ्न थालेको छ ।

कोरोनाका कारण सीमित अभियानकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिइएको अभियानमा आज ३०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । महाअभियानको ४४२ औँ हप्तामा आज सिनामङ्गल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको थियो । गत हप्ता पनि यस क्षेत्रमा सफाइ गरिएको थियो ।

पशुपति क्षेत्रमुनिको नदी किनारमा आर्यघाटबाट झरेको बाँस, खटलगायत फोहरको थुप्रो भेटिएपछि आज पनि यस क्षेत्रमा सफाइ गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा.माला खरेलले जानकारी दिए ।

सफाइबाट तीन गाडी फोहर व्यवस्थापन गरिएको छ । एक गाडी फोहर काठमाडौँ महानगरपालिकाको गाडीले व्यवस्थापन गरिसकेको छ । दुई गाडी फोहर भने नदी किनारमा थुपारिएको र महानगरपालिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको उनले बताए । सफाइमा कलाकार शिव श्रेष्ठ, समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो ।

आर्यघाटबाट निस्कने फोहर व्यवस्थापनका विषयमा समितिले पशुपति क्षेत्र विकास कोषसँग पनि बैठक गरिसकेको जनाइएको छ । कोषले त्यस क्षेत्रको फोहर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । पशुपति क्षेत्रलाई स्वच्छ बनाउन कोषले पनि असोज पहिलो सातादेखि स्वच्छ पशुपति अभियान सुरु गरेको छ ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४११औँ हप्तामा गोठाटार पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको छ । ‘जिरो वेष्ट, अल दि वेस्ट’ भन्ने नाराका साथ पछिल्लो समय सफाइ अभियानलाई निरन्तरता दिइएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । यस क्षेत्रमा कुहिने फोहर खाडल खनेर गाडिन्छ । नकुहिने फोहरमात्र यस क्षेत्रको सफाइबाट व्यवस्थापन गरिएको छ ।

मनोहरा सफाइ अभियानको २४१ औँ हप्तामा महानगरपालिकाको वडा नं ३२ स्थित शुभकामना मार्ग क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा त्यस क्षेत्रका ७० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएपछि यसका सहायक नदी, उपत्यकाका चक्रपथलगायत सांस्कृतिक सम्पदा सफाइ अभियान पनि सुरु भएको छ । उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ ।

महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०८ स्थानमा सफाइ भइरहेको जनाइएको छ । प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘देश सेवाका लागि दुई घण्टा’ भन्ने नाराका साथ सफाइ अभियान हुने गरेको छ ।

महाअभियान सुरु भएपछि चाडपर्व, चिसो, गर्मी, प्राकृतिक विपत्तिजस्ता प्रतिकूल परिस्थितिमा पनि अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिने गरेका छन् । विश्वमै सबैभन्दा लामो समय चलेको स्वयंसेवी अभियान भन्दै जापानको अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि वाग्मती सफाइ महाअभियान पुरस्कृत भएको छ ।

प्रतिकृया दिनुहोस