तिहारका लागि चिनियाँ व्यापारीले ल्याइदिए नाकासम्म भेडाच्याङ्ग्रा   

Bheda changra

रसुवा । तिहारका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म भेडाच्याङ्ग्रा ल्याइदिएका छन् ।मानिसको आवतजावत रोकेका कारण व्यापारीले नै नाकासम्म भेडाच्याङ्ग्रा ल्याइदिएका हुन् ।

यस पटक ५० वटा भेडाच्याङ्ग्रा आयात भएको पशु क्वरेण्टीन कार्यालय रसुवाले जनाएको छ । यसअघि दशैँमा पनि व्यापारीले नाकासम्म नै भेडाच्याङ्ग्रा ल्याइदिएका थिए । तिहारका लागि आएका भेडाच्याङ्ग्राको भाउ पनि महँगो परेको छ ।

उतै महँगो परेकाले यसपटक मूल्य बढेको कार्यालय प्रमुख डाक्टर विकास धौवन्जारले बताए । ‘व्यापारीले खरिद गर्दा नै प्रति भेडाच्याङ्ग्रा २६ हजार परेको बताएका छन्’, उनले भन्नुभयो, ‘यता बिक्री गर्दा महँगो पर्न जान्छ।’ अहिले आएका भेडाच्याङ्ग्रा सानो भएको र सबैको एउटै रेट हुँदा बिक्रीमा समस्या आउने व्यापारीले गुनासो गरेका उनको भनाइ छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट हरेक वर्ष भेडाच्याङ्ग्रा आयात हुँदै आएको छ । कोरोना सङक्रमण सुरु हुनुअगाडि नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडाच्याङ्ग्रा आयात गर्ने गरेका थिए। 

 

प्रतिकृया दिनुहोस