बारले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन  : अध्यक्ष श्रेष्ठ

Chandeshwor shrestha

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष श्रेष्ठले विगतमा भागबन्डाको आधारमा न्यायाधीश नियुक्ति गरिएको हुनाले अहिले समस्या उत्पन्न भएको टिप्पणी गर्दै प्रधानन्यायाधीशको राजीनामा भने नमागेको बताएका हुन् ।

न्यायाधीश नियुक्तिको विषय, न्यायापालिकाभित्र विसङ्गति, विकृति, बिचौलियाहरू मौलाएको विषय, भ्रष्टाचार नियन्त्रणको विषय, न्यायाधीशहरूको सम्पत्ति रातारात बढ्दै जाने विषयको सम्बन्धमा, सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका विषय र कुराहरू उठाउँदै आएको उनले बताए । उनले बिचौलियालाई न्यायापालिकाभित्र प्रवेश निषेध गराउनको लागि पनि आफूहरूले संस्थागत र व्यक्तिगत रूपमा सुझाव दिएको स्मरण गराए।

उनले न्यायपालिकाभित्रका विकृति, विसङ्गति, भ्रष्टाचार रोक्नको लागि उपाय र कार्ययोजना बनाउन हरिकृष्ण कार्कीको नेतृत्वमा कमिटी गठन भएको र त्यसले रिपोर्टसमेत दिइसकेको बताए । प्रधानन्यायाधीश जबराले विकृति तथा विसङ्गति रोक्नको लागि विशेष पहल गर्नुपर्ने धारणा आफूहरूले राख्दै आएको पनि उनले बताए ।

पूर्व न्यायाधीशहरूको फोरमले प्रधानन्यायाधीशको राजीनामा माग गरेको सवालमा बारले कुनै आधिकारिक धारणा नबनाएको पनि अध्यक्ष श्रेष्ठको भनाई छ ।

 

प्रतिकृया दिनुहोस