ओलीको तर्क : ‘प्रचण्ड र माधव बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढ्यो’

Nepal pm oli

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीको बेइज्जत गर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गरेका छन् ।

देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीबाट अलग्गिएपछि पार्टी थप शसक्त भएको दाबी गरेका हुन् ।

‘पार्टीको बेइज्जत गर्नेहरु गइसके अब पार्टी शुद्धिकरण भयो । पार्टीलाई सरकारबाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र वाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि बढेको छ,’ उनले भने ।

‘एकैचोटी यति धेरै अधिवेशन उद्घाटन गर्नु सम्भवतः ऐतिहासिक हो । यस्तो अधिवेशन एमालेजस्तो एकता र संगठित पार्टी भएकाले मात्र सम्भव भएको हो ।’

आत्मविश्वास, दृढता र सक्रियताका साथ पार्टी अगाडि बढिरहेको ओलीको भनाइ छ । ‘बाढी पहिरोका कारण रोकिएको ठाउँमा पनि छिट्टै हुनेछ । आठ हजारभन्दा बढी कमिटी देशभरी परिचालित हुनेछन् । त्यसबाहेक जनसंगठन र वर्गीय संगठन पनि पार्टीले नै परिचालित गर्ने हो’ उनले भने ।

ओलीले वर्तमान सत्तारुढ गठबन्धन ‘प्रतिक्रियावादी र प्रतिगामी’ भएको आरोप लगाएका छन् । आफू नेतृत्वको सरकार महान् उद्देयश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको ओलीको आरोप थियो ।

‘पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, फुटाउने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउँमा सेवा गर्ने ?,’ उनको आक्रोश थियो । अध्यक्ष ओलीले लोकतान्त्रिक भनिएको पार्टी (कांग्रेस) ले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताए ।

अध्यक्ष ओलीले भने, ‘आगामी निर्वाचनमा हरेक तहमा शानदार ढंगले बहुमत ल्याउने तयारी पनि गरिरहेका छौँ । त्यस अनुसारले आन्दोलनमा जुट्न म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु । एउटा हल्ला चल्यो अस्ति भर्खर । त्यो हल्ला अव कमजोर हुँदै गएको छ । तीनका स्याल हुँइयाहरु कमजोर हुँदै गएका छन् । तीनका आवाजहरू सुक्दै गएका छन् । हिजो नेकपा एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अव एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरू चलाइए । तर म कमरेडहरूलाई भन्न चाहन्छु–ती बेकारका बलेसीका पानी रहेछन् भन्ने कुरा स्पष्ट भइसक्यो । यी बलेसीका पानीका फोका हुन, तीनका आयु लामो छैन । तिनीहरूले हामीलाई बदनाम गर्न खोजे । चरित्र हत्या गर्न खोजे । हाम्रा विरोधीहरूका चाहना उनीहरूको आवश्यकता पूरा गर्ने होइन, हामीले हाम्रा अभिभार पूरा गर्ने हो । त्यो काम हामी गर्छौँ ।’

 

प्रतिकृया दिनुहोस