एमाले वडा अधिवेशनको ओलीद्वारा भर्चुअल उद्‍घाटन, पार्टी एक ढिक्का रहेको दाबी

Nekapa amle1634970818

काठमाडौँ । नेकपा एमालेको वडा अधिवेशन आजबाट सुरु भएको छ। देशभरका वडामा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलरुपमा उद्‍घाटन गरेका छन् ।

उनले भर्चुअलरुपमा वडा अधिवेशनलाई सम्बोधन गर्दै अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिए । अध्यक्ष ओलीले पार्टी भित्र उन्नतस्तरको एकता रहेको दावीसमेत गरे। उनले उन्नत स्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरु सम्पन्न हुने विश्वास समेत व्यक्त गरे। उनले वडा अधिवेशनहरु छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिए ।

थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट वडा अधिवेशनहरूलाई शनिबार सम्बोधन गर्दै ओलीले विगत डेढ वर्षयता पार्टीमा समस्या देखिएको तर अहिले त्यस्तो समस्या बाँकी नरहेको बताएका हुन् ।

‘पार्टीमा एउटा सकरात्मक कुरा के देखिएको छ भने अब पार्टी एकढिक्का छ । पार्टीको बदनाम गर्ने, बेइज्जत गर्ने र बढाइचढाइ पार्टीभित्रका समस्या देखाउने कुरा रहेन,’ ओलीले भने, ‘प्रचण्डले पार्टी छोडेर बहिर्गमन गरेपछि र माधव गुटले फरक ढंगले प्रस्तुत भइसकेपछि पार्टी नयाँ ढंगले अगाडि बढेको छ ।’

पार्टीलाई यसबीचमा सरकारबाट हटाउने खेल पार्टीभित्र र बाहिर साँटगाटमा भएको ओलीको भनाइ थियो । पार्टीभित्र देखिएको विवादले कम्युनिस्ट आन्दोलनको भविष्य खतरामा परेको उनले बताए । एमालेले लोकतन्त्र र संविधानको रक्षा गर्न लागेको उनको भनाइ थियो । पार्टीभित्रको विवादले विकासका प्रयासमा व्यवधान पुर्‍याएको पनि उनले बताए ।

एमालेको पालिका अधिवेशन कार्तिक ९ गतेका लागि तय गरिएको छ ।

 

प्रतिकृया दिनुहोस