आइतबारसम्मै वर्षा नरोकिने, सतर्कता अपनाउन महाशाखाको आग्रह

Weather 3

काठमाडौं । आज देशभरको मौसम मंगलबारसम्म प्रतिकूल रहने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ । आज राति वाग्मती प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा फेरि वर्षा सुरु भएको छ । आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो । सोमबार दिउँसो काठमाडौंको मौसम सफा रहे पनि राति ९ बजेबाट पुनः वर्षा हुन थालेको छ ।

उत्तर पश्चिमी बंगालको खांडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै मनसुनी गतिविधि बढेको महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ । आइतबार रातिको जस्तो भारी वर्षा नभए पनि ठाउँठाउँमा निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश-२ बाहेक सबै प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मौसविद् निराजन सापकोटाका अनुसार आइतबार अघिसम्म वर्षा रोकिने सम्भावना कम छ । शनिबार साँझसम्म अधिकांश समय वर्षा हुने तथा दिउँसो केहीबेर रोकिने क्रम चलिरहने उनले बताए । आइतबार बिहानदेखि मौसम क्रमिक सुधार हुने उनको भनाइ छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।

केही दिनदेखिको झरीले गलेको जमिन सामान्य पानी पर्दा पनि पहिरो जाने र गेग्रान बग्ने सम्भावना भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस