परिवर्तन र क्रान्तिको पक्षमा एकताको झण्डा उठाउँछु : प्रचण्ड   

236045227 577900206738592 4020971747837980753 n

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताएका छन् ।  उनले नेपालका विभिन्न कम्युनिस्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताए ।

माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्द (विप्लव) र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको बताए । माओवादी केन्द्र र नेकपा एमालेबीच हुँदा आफूहरू कमजोर नभएको उनले बताए । उनले देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवम् राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने बताए । 

अध्यक्ष प्रचण्डले माओवादी पूर्ण समानुपातिक चुनावको पक्षमा नै उभिएको र आउँदा दिन पनि पूर्ण समानुपातिक चुनावको मुद्दालाई अगाडि बढाउने बताए । उनले नेकपा गठन गर्दा वैचारिक प्रतिवेदन र सङ्गठनमा माओवादीमय प्रतिवेदन भएकोे दाबी गरे । माओवादी जनयुद्धको मूल्याङ्कन, राष्ट्रिय जागरणको मूल्याङ्कन कुन पार्टीले ल्यायो भन्ने मूल्याङ्कन आफ्नो पक्षमा रहेको प्रचण्डको दाबी छ ।

नेकपा माओवादीका जिल्ला इन्चार्ज तुलाराम घर्ती मगरले पार्टी बलियो बनाउने जिम्मा कार्यकर्तामा आएको बताए । उनले कार्यकर्तादेखि नेतासम्म पार्टी कसरी बलियो बनाउने भन्ने चिन्ता रहेकाले त्यो अभियान छिटो सञ्चालन हुने बताए । 

कार्यक्रममा जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले माओवादीले पार्टी सङ्गठन बलियो बनाउन अभियान नै सञ्चालन गर्ने बताए ।  उनले पार्टीका अब नियमित गतिविधिहरू सञ्चालन हुने र त्यसले पार्टीलाई चलायमान बनाउन सहयोग पुग्ने बताए ।

नेकपा माओवादी जिल्ला समितिलाई समन्वय समितिमा बदलिएपछिको यो पहिलो बैठक हो । बैठकमा माओवादीका जिल्ला तथा गाउँपालिकाको अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस