बेलायती महारानी एलिजाबेथले उपहार दिएको बग्गी नारायणहिटीमा सार्वजनिक

241324545 3038538573060465 4742358298008300429 n

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालयमा बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सार्वजनिक गरिएको छ ।

सोमबार सङ्ग्रहालयमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन् । उक्त गोल्डेन बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा विरेन्द्रलाई दिएको सङ्ग्रहालयले जनाएको छ ।

राजाको राज्याभिषेकमा प्रयोग गरिएको उक्त बग्गी नारायणहिटी सङ्ग्रहालयमा राखिँदै आएको थियो । नेपालमा राजतन्त्रको अन्त्यसँगै सङ्ग्रहालयमा बदलिएको नारायणहिटी दरबारमा रहेका यस्ता सामाग्री चरण चरणमा सार्वजनिक गरिँदै आएका छन् ।

कार्यक्रममा सचिव कोइरालाले राजा महाराजाले प्रयोग गरेका बग्गी, सवारीसाधन लगायतका बस्तुलाई क्रमशः प्रदर्शनमा राख्ने बताए । ऐतिहासिक महत्त्वको क्षेत्र नारायणहिटीलाई थप अनुसन्धान खोजका लागि मास्टर प्लान बनाएर नै अघि बढ्ने योजना रहेको उनले बताए ।

त्यस्तै नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले २०७८ सालको निजामती सेवा दिवसका अवसरमा गोल्डेन बग्गी प्रदर्शनी गरिएको बताए । उनले तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलो पटक प्रयोग गरेको उक्त बग्गी जस्तै अर्को बग्गी बकिंघम दरबारमा रहेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिका वडा नं.१ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय छ । मध्य भागमा महेन्द्र मन्जिल छ । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग छ । दरबारभित्र विभिन्न बैठक कोठा, पूर्वराजारानीका शयन कक्ष, राजकीय पाहुनाहरूले प्रयोग गर्ने कक्षसहितका ५२ वटा कोठा छन् । तीमध्ये ३२ वटा कक्ष प्रदर्शनीमा ल्याइएका छन् ।

 

प्रतिकृया दिनुहोस