कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट प्रधानन्यायाधीश राणाको इजलासमा  

Supreme court 2021 96

काठमाडौँ  । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा तोकिएको छ ।

पेशी आइतबारका लागि तोकिएको हो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया गएको शुक्रबारदेखि सुरु भएको छ ।

आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भए पनि शुक्रबार वडा तहबाट अधिवेशन सुरु भएको हो । कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका हुन् ।

वैद्यले कोरोना महामारीका समयमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारको निर्देशन विपरीत अधिवेशन हुन लागेकाले रोक्नु पर्ने माग गरेका छन् । उनले महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने जिकिर गरेका छन् ।

यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) खारेजीको माग गर्दै दायर गरेका तीन रिटको पेशी पनि प्रधानन्यायाधीश राणाकै एकल इजलासमा तोकिएको छ ।

प्रतिकृया दिनुहोस