दैलेखमा कांग्रेसको वडा सभापतिमा १९ वर्षीया किशोरी निर्वाचित   

Swastika mahat

काठमाडौँ । यतिबेला देशभर नेपाली कांग्रेसको वडा अधिवेशनको चहलपहल बढेको छ। शुक्रबारदेखि देशभर कांग्रेसको वडा अधिवेशन सुरु भएको हो।

यसै क्रममा दैलेखको दुल्लू नगरपालिका वडा नम्बर ३ को वडा सभापतिमा १९ वर्षीया किशोरी निर्वाचित भएकी छन्। १९ वर्षीया स्वस्तिका महत नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी हुन्। उनी नेपाली कांग्रेसका दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंग महतकी छोरी हुन्।

दुई वर्षअघि बुवाको निधन भएपछि उनी राजनीतिमा होमिएकी हुन्। उनका बुवा नेपाली कांग्रेस दैलेखका उपसभापति थिए।

वडा सभापतिमा निर्वाचित भएपछि उनले बुवाको सपना पूरा गर्न राजनीतिमा आएको प्रतिक्रिया दिएकी छन्। उनले नेपालगञ्ज टेक्निकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए) को अध्ययन पूरा गरेकी छन्। अब राजनीति र पढाइ सँगसँगै अघि बढाउने उनको भनाइ छ। उनी सर्वसम्मत वडाध्यक्षमा चयन भएकी हुन्।

वडा अधिवेशनले सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ। यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। मुलुकभरका सबै ६ हजार ७ सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २ सय एक पदाधिकारी र सदस्य १ लाख २१ हजार ६ सय ८१ निर्वाचित हुनेछन्। यसबाहेक मनोनीत हुनेको संख्या थप रहेको छ।

त्यस्तै, देशभरका वडाबाट एक लाख १४ हजार पाँच सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। महाधिवेशनअन्तर्गत गाउँ, नगर वडा अधिवेशन शुक्रबार गाउँ, नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ।

यसैगरी, कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ।

मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ। यसअघि कांग्रेसको १३औँ महाधिवेशन ०७२ साल फागुनमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस