निर्वाचन निर्देशिकाप्रति मीन विश्वकर्माको आपत्ति, दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रिय सदस्यबाटै दिए राजीनामा

Meen bishwakarma

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेपाल दलित संघ अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।

१३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको उनले बताएका छन् । तर विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप छ ।

यो निर्देशिका मान्य नभएको भन्दै उनले दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य दुवै पदबाट राजीनामा दिएको बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्, ‘कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समयपश्चात् नै शून्य हुने देख्दादेख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपले नमिल्ने र नसक्ने भएकोले आजैका मितिदेखि लागू हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु ।’

प्रतिकृया दिनुहोस