रुपान्तरित कांग्रेस, रुपान्तरित देश बनाउने अठोटमा एकले अर्कोलाई सहयोग गर्नुपर्छ : प्रवक्ता शर्मा

Bishwo

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु हुने बताएका छन्। प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृङ्खला प्रारम्भ हुने बताए।

१८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिए पनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरुको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै दुई वटा जटिलता रहेको उनले बताए।

प्रवक्ता शर्माले भने, ‘नेपाली कांग्रेस पार्टीको महाधिवेशनको श्रृङ्खला प्रारम्भ भएको हुन्छ र भदौ १८ गते महाधिवेशन प्रारम्भ हुँदैछ। अहिले पार्टीमा दुई वटा जटिलता छ, एउटा ५३ जिल्लामा मात्रै क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छ, हिजो मात्रै थप ३ जिल्लाको सूची सार्वजनिक गर्ने सहमति पछि ५६ पुगेको अवस्था छ, अर्को कोरोना महामारीको जोखिम छ।’

प्रवक्ता शर्माले १८ गतेबाट पार्टी महाधिवेशन शुरु हुँदै गर्दा कोरोना, अन्य केही जटिलता तथा क्रियाशील सदस्यताको विवरण नटुंगिएको खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकुलता बमोजिम सार्न सक्ने बताए।

उनले भने, ‘कोरोनाको जटिलता वा अन्य केही जटिलता र क्रियाशील सदस्यता नटुंगिएको खण्डमा तद् जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग सम्पर्क, समन्वय गरेर अनि अनुमति लिएर ती जिल्लाको अधिवेशनलाई १८ बाट १९, २०, २१ आफ्नो अनुकुलता अनुसार गर्न सक्नुहुनेछ, त्यो कोरोनाको विषय, क्रियाशील सार्वजनिक नभएको विषय र प्रतिनिधि पुग्दै गर्दा कारणवश ढिलाइ भएको विषयको वस्तुगत स्थिति भन्दा बाहेक हामी १८ गतेबाट नै महाधिवेशनको प्रक्रिया शुरु गर्नेछौँ, त्यसकारण सबैको जोड १८ गते छ, भदौ १८, २०७८ साल यो अधिवेशनको सबैले गम्भीरतापूर्वक लिएका छौँ।’

प्रवक्ता शर्माले अधिवेशन गर्न जाँदै गर्दा नेतृत्वको चयन गरेर नेतृत्वलाई लिएर आउने दायित्व र पार्टीलाई उर्जा भरेर रुपान्तरित कांग्रेस, रुपान्तरित देश बनाउने अठोट र अभियानमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए।

महाधिवेशन संयमता र हार्दिकताका साथ गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले कोरोनाको जोखिम भएकोले अधिवेशनमा उत्साहपूर्वक सहभागि बन्न तर भीडभाड र भेटभाट कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न सुझाए।

प्रतिकृया दिनुहोस