भदौ २० गतेबाट लाइसेन्स परीक्षा खुल्दै, नयाँ आवेदकले कात्तिकसम्म कुर्नुपर्ने      

Sawarilisense1

काठमाडौं । कोरोना संक्रमणको दर केही घटेसँगै सवारी लाइसेन्सका लागि आवेदन दिएका पुराना आवेदकहरूको परीक्षा सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले यही भदौ २० गतेदेखि परीक्षा सञ्चालन गरिने जनाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरको जोखिमबाट जोगिन गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै सवारी चालक अनुमति पत्रको परीक्षा रोकिएको थियो । विभागले वैशाख १६ गते पूर्व आवेदन दिएकाहरूको परीक्षा सञ्चाल गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

सबै यातायात व्यवस्था कार्यालयहरूलाई स्वास्थ्य मापदण्ड पालना गरी सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्न पत्राचार गरिसकिएको जानकारी यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । 

स्वास्थ्य मापदण्ड पालनाका लागि एक सिफ्टमा बढीमा २ सय जना परीक्षार्थीलाई मात्र सहभागी गराइनेछ । एउटा कोठामा २५ जना परीक्षार्थीमात्र राखिने विभागको तयारी छ । ६ लाख पुराना आवदेक परीक्षाको प्रतिक्षामा थिए ।

आवश्यक चालक अनुमति पत्र छाप्ने स्मार्ट कार्ड खरिदमा विलम्ब हुँदा नयाँको चाप थेग्न कठिन हुने देखेर पुराना आवेदकको मात्र परीक्षा लिन लागिएको महानिर्देशक घिमिरेले बताए । 

प्राविधिक तथा विभागीय त्रुटिले अनुमति पत्रका लागि आवश्यक स्मार्टकार्ड खरिदमा विलम्ब भइरहेको महसुस गर्दै विभागले १४ लाख स्मार्ट कार्ड खरिद प्रक्रिया अगाडि बढाएको छ ।

कार्ड छापिएर आउन डेढ महिना लाग्ने भएकाले असोज महिनाको अन्तिमतिर मात्र सवारी अनुमति पत्र लिन चाहने नयाँ आवेदकलाई परीक्षामा समावेश गर्न सकिने महानिर्देशक घिमिरेको भनाइ छ ।

लिखित परीक्षामा नयाँ नियम लागू गरिँदैछ । लिखितमा उत्तीर्णहरूले पुरानै नियम अनुसार प्रयोगात्मक परीक्षा अर्थात ट्रायल दिनुपर्नेछ । लिखित र ट्रायलमा उत्तीर्ण भएकाहरूले मात्र सवारी साधन चालक अनुमति पत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस