दार्चुलामा बाढीपहिरोमा परी ३ जनाको मृत्यु, ११ घर पुरिए

Darchulla pahiro

दार्चुला । लगातारको वर्षाका कारण दार्चुलाका विभिन्न भेगमा बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । बाढीपहिरोले जिल्लाको दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति गरेको हो ।

बाढीले घर, खेत, पुल र लघुजलविद्युत् आयोजनासमेत बगाएको छ । पहिरोले घर पुरिँदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो भट्टले बताए । यस्तै दुहु गाउँपालिकाको–५ दुल्लामा बाढी घरसहित बगाएर मनुवा डडालको पनि मृत्यु भएको भट्टले बताए । कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको उनले जानकारी दिए । बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशुचौपाया पनि बगाएको छ।

सो क्षेत्रमा ५ वटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन् । यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको भट्टले जानकारी दिए । निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडकमा रहेको मोटरेबल पुल र दुईवटा झोलुंगे पुल र आधा दर्जन घर तथा पसलहरु बगाएको छ ।

दार्चुला–तिंकर सडकको निजाङगाड पुल बग्दा दुहुँ र व्याँस गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ । यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ।

यस्तै महाकाली नगरपालिका–१ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जीतबहादुर बमको पसल बगाएको छ। अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको भट्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस