फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन निर्माण तीव्र

Fungling 1

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले प्रमुख प्रशासकीय भवन र वडा भवन निर्माणलाई तीव्रता दिएको छ । प्रमुख प्रशासकीय भवन निर्माण ८० प्रतिशत सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

फुङ्लिङ नगरपालिकाले वडा नम्बर ७ दोखुमा प्रमुख प्रशासकीय भवन निर्माण गरिरहेको छ । नगरपालिकाको २४ वटा कोठाको भएको भवन निर्माण कार्य सम्पन्न हुन २० प्रतिशत मात्र बाँकी रहेको फुङ्लिङ नगरपालिकाका प्रमुख प्राविधिक मिलन गिरीले बताए । भवन निर्माण सम्पन्न भइसकेको र भित्री कोठाहरुको डिजाइनको काम भइरहेको उनको भनाइ छ ।

आगामी चैतसम्म सम्पन्न गर्नेगरी कुल सात करोड ६६ लाख रुपैयाँ ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ । दशैंपछि आफ्नै भनवबाट नगरपालिकाले सेवा दिने योजनाका साथ तीव्र रुपमा काम भइरहेको फुङ्लिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराई (तारा) ले बताए ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा निजी घर भाडामा लिएर नगरपालिकाले प्रमुख प्रशासकीय काम सञ्चालन गर्दै आएको छ । त्यसका लागि मासिक ७५ हजार भाडा बुझाउँदै आएको नगरपालिकाका लेखा अधिकृत जितेन्द्र तामाङले जानकारी दिए ।

नगरपालिकाको ११ वटा वडा छ । १ र ४ नम्बर वडाले आफ्नो वडा कार्यालयको भवन निर्माण सम्पन्न गरी आफ्नेै भवनबाट सेवा दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताए । वडा नम्बर ९ र १० वडाको पुरानो काविस भवनबाट सेवा दिँदै आएका छन् । २,३,६,७,८ र ११ वडाहरुको वडा कार्यालय यसै आर्थिक वर्षमा सम्पन्न गर्न नगरपालिकाले दुई करोड १० लाख बजेट विनियोजन गरेको प्रवक्ता न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस