जनप्रतिनिधिबीच विवाद हुँदा सोरुमा अझै पेस भएन बजेट

Mugu janaprtinidi

मुगु, । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा अझै पनि बजेट पेस हुनसकेको छैन । चालु आर्थिक वर्षको बजेट पेस नहुँदा सेवा प्रवाह र विकास निर्माणका काम अन्योलमा परेको छ । गत २० असारमा आठौ गाउँसभा उद्घाटनका क्रममा जनप्रतिनिधिबीच विवाद भएपछि गाउँसभा अन्योलमा भई हालसम्म पनि बजेट पेश हुननसकेको हो ।

विवादका कारण स्थगित भएको गाउँसभा कहिले बस्ने अझै निश्चित छैन । बजेट बाँडफाँट नहुँदा वडादेखि गाउँपालिका स्तरमा छनोट भएका दर्जनौ योजनाले गति लिन सकेका छैनन् ।

असार मसान्तपछि अहिले जनप्रतिनिधि र केही कर्मचारी कार्यालयविहीन भएका छन् भने केही कर्मचारी जिल्ला बाहिर छन् ।

स्थानीय तह सञ्चालन ऐनअनुसार १५ असारभित्र गाउँसभा सञ्चालन गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिसक्नुपर्ने व्यवस्था छ । तर सोरु गाउँपालिकाले तोकिएकै मितिमा गाउँसभा सञ्चालन नगर्दा बजेट पेश हुन सकेको छैन ।

बजेट पेस नहुँदा वडास्तरमा छनोट भएका योजना अघि बढाउन समस्या भएको वडा नम्बर २ का वडाअध्यक्ष ऐनबहादुर शाहीले बताए ।

विवादका कारण बजेट बाँडफाँट नहुँदा कुनै पनि योजनाको काम सुरु भएको छैन । कर्मचारीले जेठदेखि तलब पाएका छैनन् । बजेट पेश नहुँदा सबैजसो विषयगत शाखा र वडा कार्यालय कामविहीन बनेको वडा अध्यक्ष शाहीले बताए ।

जिल्लाका मुगु मकार्मारोङ, खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकाले भने चालु आर्थिक वर्षको बजेट पास गरी योजना सम्झौताको काम सुरु गरेका छन् ।

विभिन्न कारणले बजेट बाँडफाँटमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । सोरुमा ४ वर्षको अवधिमा ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । राजनीतिक खिचातानीले गाउँपालिकामा हरेक वर्ष प्रशासकीय अधिकृत फेरबदल हुँदा दैनिक, प्रशासनिक र विकास निर्माणका योजना प्रभावित हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस