निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा मजदुरले ज्याला पाएनन्, आन्दोलनको चेतावनी

Khanepani dhara

बैतडी । बैतडीको एक खानेपानी आयोजना निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा मजदुरले पारिश्रमिक पाएका छैनन् ।

आर्थिक वर्ष २०७४/०७५मा जिल्लाको सुर्नया गाउँपालिकावडा नं ६ स्थित ठूला पातल–कुनेटा–टकौरी खानेपानी आयोजना निर्माणको क्रममा काम गरेका मजदुरहरुले अहिलेसम्म पारिश्रमिक नपाएपछि आन्दोल गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले उक्त योजनाको उपभोक्ता समिति सचिवसमेत रहेका शिक्षक संघ बैतडीका अध्यक्ष विष्णुदत्त अवस्थीले पारिश्रमिक नदिएको आरोप लागाएका छन् ।

स्थानीय १६ वर्षीय अनिल अवस्थीले भने, ‘म कक्षा ६ मा पढ्ने बेला काम गरेको पैसा अहिले कक्षा १०मा पढ्दासम्म पनि पाएको छैन् । मेरै विद्यालयका शिक्षक रहेका विष्णु सरले काम गर भनेर १२ बालबालिकालाई काममा लगाएको हो । हामी १२ बालबालिकाले काम गरेका हौँ । हामीलाई स्कूल नगए पनि पास गराइदिन्छु र टोलमा सिँचाई आयोजनासमेत ल्याइदिन्छु भनेका थिए । तर केहि गरेनन् ।’

अर्का मजदुर लवदेव अवस्थीले भने, ‘हामी गाउँको नेता भनेर पनि विष्णुलाई नै मान्थ्यौँ । शिक्षक पनि हो । तर, हामीलाई खानेपानी आयोजना र सिँचाई आयोजना दिने लगायतका आश्वासन दिएर आफ्नो घरमा जाने पानीको योजनामा काम गराए। अहिलेसम्म पैसा दिएको छैन ।’

खानेपानी योजना निर्माणका लागि बनेको उपभोक्ता समितिका सदस्यहरुले नै योजनाको रकम भुक्तानी भएको विषयमा कुनै जानकारी नभएको बताएका छन् ।

योजनाका सचिवसमेत रहेका शिक्षक अवस्थीले आफू खुसी भुक्तानी लिएको र मजदुरलाई पारिश्रमित नदिएको आरोप छ । खानेपानी योजना निर्माण गर्दा बनाएको समितिमा पनि उनले आफू खुसी सदस्यहरु फेरबदलसमेत गरेको पाइएको छ ।

आफूहरुले काम गरेको पैसा नपाएकाले न्याय दिलाइदिनुपर्ने स्थानीय यज्ञराज अवस्थीले बताउँछन् । ठूला पातल–कुनेटा–टकौरी खानेपानी योजनामा काम गरेको पैसा नपाएको भन्दै स्थानीयहरुले न्यायका लागि जुनसुकै स्थानमासमेत जाने तयार रहेको बताएका छन् । उनीहरुको भेलाले खानेपानी योजनामा काम गराएको पैसा भुक्तानी गर्नका लागि सम्बन्धित् सबै निकायमा दबाब दिने निर्णयसमेत गरेका छन् ।

२०७४/७५ सालमा दुई लाख रुपैयाँको लागतमा निर्माण भएको योजनामा काम गरेका मजदुरहरुले अहिलेसम्म ज्याला नपाएकाले आन्दोलनमा जाने उनीहरूको तयारी छ । खानेपानी आयोजनाका सचिव तथा शिक्षक संघ बैतडीका अध्यक्ष विष्णु अवस्थीले भने आफूलाई लगाएको सबै आरोप गलत भएको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस