यस्तो खाटमा सुत्छन् विष्णुपुरका वडाध्यक्ष

Bahadur sada

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं ६ का ७८ वर्षीय बहादुर सदा वडा अध्यक्ष भएको चार वर्षभन्दा बढी भयो । वडा अध्यक्ष भएपछि जिम्मेवारी थपियो, तर उनको जीवनशैली फेरिएन् ।

पहिले घरको समस्या टार्दा समय बित्ने गर्थ्यो, तर घरसँगै वडाको जिम्मेवारीले गर्दा उनको दिनचर्या तनावमा बित्न थालेको छ । उनलाई पहिले आठ घण्टा काम गर्नु पर्थ्यो । उनी राती आनन्दले सुत्थे । अहिले सुत्ने समयमा पनि कति दिन निन्द्रा लाग्दैन् । उनी भन्छन्, ‘वडाको जिम्मेवारी काँधमा आएकोले त्यस्तो भएको हो ।’

विपक्षीले जहिले पनि कहाँ गल्ती हुन्छ, विरोध गरौँ भन्ने दाउ खोजेर बसेको हुने उनको अनुभव छ । एकदमै सावधानीले सबै पक्षलाई समेटेर काम गर्नु पर्दा बढी तनाव हुने वडा अध्यक्ष सदाको भनाइ छ ।

१० वर्षको उमेरदेखि मजदुरी गर्दै आएका सदा वडा अध्यक्षमा निर्वाचित भएपछि पनि उनको रहनसहन र जीवनशैली उस्तै रहेको स्थानीय ७० वर्षीया नेपु देवी सदाले बताइन् ।

‘पहिले पनि वडा अध्यक्ष घरको बरण्डामा बाँसले बनाइएको खाटमा सुत्यो, पहिले आर्थिक अभावका कारण खाट किन्न नसकेर होला भन्थेँ । तर अहिले पनि उस्तै छ’, उनले भनिन् ।

उनी पहिले जस्तै साधारण खाना खान्छन् । पहिले फुसको घरको बरण्डामा बसे पनि अहिले इट्टा र टिनबाट बनाएको घरमा बस्ने गरेका छन् । ‘यो पनि घर र जग्गा विदेश गएको जेठो छोराले किनेर बनाएको हो’, स्थानीय ६५ वर्षीया भुलु सदाले भनिन् ।

वडा अध्यक्ष सदाको घरमा तीनवटा कोठा भएपनि एउटा कोठामा मात्र खाट छ । छोराबुहारी र सानो नाति खाटमा सुत्छन् । नातिहरू भुइँमै ओछ्यान लगाए सुत्दै आएको भुलुको भनाइ छ ।

विपन्न परिवारमा जन्मेका सदाको सानैदेखि गरिबीमा जीवन बित्दै आएको छ । १० वर्षको उमेरदेखि अर्काको घरमा काम गर्न बसेका सदाको १४ वर्षको उमेरमा विवाह भएको थियो । विवाहपछि जिम्मेवारी बढेलगत्तै उनले दैनिक ज्यालादारीमा काम गर्न सुरू गरे । उनले भने, ‘२५ वर्षको उमेरमा दुई छोरी र चार छोरासहित ६ जना छोराछोरीको बाबु बनिसकेको थिएँ ।’

एक्लैको कमाइमा श्रीमती, आमाबाबु, ६ सन्तान गरी १० जना परिवारको जीविकोपार्जन गर्न एकदमै कठिनाइ भएको अनुभव सदाको छ । कति दिन खान पुग्थ्यो, कतिदिन भोकभोकै सुत्नुपर्दथ्यो। तर पनि मस्त निन्द्रा लाग्ने गरेको सदाको अनुभव छ। उनले थपे, ‘पहिले परिवारको मात्र जिम्मेवारी थियोे । अहिले वडाको जिम्मेवारी काँधमा थपिएपछि चिन्ता बढ्नु स्वभाविक हो।’

२०५६ सालको स्थानीय तहको चुनाव नजिकिएको बेला उनले काम गर्दै गरेको घरको घरमुलीको प्रेरणाले स्वतन्त्रबाट सदस्य पदमा होमिएका सदा विजय हासिल गर्न सफल भएका थिए ।

उनले भने, ‘समाज सेवा गर्ने चाहना पहिलेदेखि नै थियो । तर, गरिबीको कारण सम्भव थिएन्। छोरा विदेश गएर कमाउन थालेपछि चुनाव लड्न सम्भव भएको हो ।’
वडा सदस्य भएपछि हस्ताक्षर गर्न सिके र समाज सेवामा निष्पक्ष रूपमा लागि रहे । उनले वडामा नागरिकता, जन्मदर्ता नबनाएकाहरूलाई यसको महत्त्वको विषयमा जानकारी गराएर आवश्यक प्रक्रिया पूरा गरी आफूसँगै गएर नागरिकता बनाइदिने, उमेर पुगेकालाई वृद्धा भत्ता कार्ड बनाई दिने, वृद्धा भत्ता आएपछि जानकारी दिएर वृद्धा भत्ता उठाउनसँगै गएर उठाइदिन थाले ।

यस्तो सहयोगी भावनाका कारण उनी आफ्नो समुदायमा सबैको लोकप्रिय बने । उनी भन्छन्, ‘वडावासीको आग्रहमा पछिल्लो स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएर विजयी भए ।

सरल स्वभावको इमान्दार वडा अध्यक्ष भएका कारण तलबबाहेक कुनै कमिसन नलिएकै कारण जीवनशैली नफेरिएको स्थानीय ४० वर्षीया अनिता सदाले बताइन् ।

उनी भन्छिन्, ‘यही जिल्लाका अन्य वडा अध्यक्षले दुई पुस्तालाई खान पुग्ने सम्पती जोडीसके, जीवनशैली फेरिसके, हाम्रो वडा अध्यक्ष इमान्दारका नमुना हुन्।’

प्रतिकृया दिनुहोस