सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, खोलियो ३५ ढोका

Koshi barrage 13

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशीमा पानीको सतह बढेको छ । केही दिनयता निरन्तर बढीरहेको कोशीको जलस्तर नाप्दा यस वर्षकै सबैभन्दा बढी रहेको पाइएको छ ।

पानीको स्तर बढेको भए पनि वार्निङ लेभलभन्दा मुनि नै रहेको छ । निरन्तरको वर्षासँगै कोशीको बहाव बढ्दा श्रीलंका टापुको सुनसरी तर्फको क्षेत्रमा कटान सुरु भएको छ । नदीले टापु क्षेत्रका केही स्थानमा कटान सुरु गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार आइतबार बिहान ११ः४० को रिपोर्टले कोशीको जलस्तर २ लाख ३० हजार ५ सय ५५ क्युसेक देखाएको छ । कोशीको सतह ५ दशमलव २९ मिटर रहेको जानकारी पोखरेलले दिए ।

पछिल्लो मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ५७ हजार ७ सय ९० क्युसेक पुगेको छ । नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।

साउन ३२ गते कोशीमा पानीको बहाव २ लाख ५६ हजार २० क्युसेक मापन गरिएको थियो । पछिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको हो ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ ।

प्रतिकृया दिनुहोस