स्याङ्जाको गल्याङमा पहिरोले घर पुरिँदा १ को मृत्यु, ३ जनाको उद्धार

Galyang pahiro

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । ३ जनाको जिवितै उद्धार गरिएको छ ।

आइतबार करिब साढे चार बजे उक्त घरमा पहिरो खस्दा होटल संचालन हुँदै आएको थियो । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दी पुल नजिकैको बजारमा पहिरो खसेको हो ।

सिद्धार्थ राजमार्ग छेउमा रहेका होटल पुरिएका हुन् । पुरिएको अवस्थामा रहेका ४ जनाको उद्धार गरिएको घटनास्थल पुगेका गल्याङ प्रहरी चौकीका हवल्दार मदन तिमिल्सिनाले बताए । उद्धार गरिएका मध्य एक जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । अझै केही मानिस पुरिएको हुनसक्ने आशंका गरिएको छ । पहिरोले ३ वटा घर पुरेको छ। माथिबाट ठूलाठूला ढुंगासहित पहिरो खसेर घर पुरिएको हो ।

उद्धार गर्नसमेत कठिन भइरहेको प्रहरीले जनाएको छ । डोजरको सहायताले उद्धारको काम भइरहेको छ । सुरक्षाकर्मी र स्थानीय उद्धारमा जुटिरहेका उनले बताए । पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस