झुक्याएर ८ दिनमा गरियो यौन दुर्व्यवहारमा परेका राउटे युवतीको स्वास्थ्य परीक्षण

Raute basti

सुर्खेत । यौन दुर्व्यवहारमा परेका दुई राउटे युवतीको ८ दिनपछि बल्ल स्वास्थ्य परीक्षण गरिएको छ ।

परीक्षण रिपोर्ट भने सार्वजनिक गरिएको छैन । पीडितलाई थाहा नदिएरै स्वास्थ्य परीक्षण गरिएको हो । यौन दुर्व्यवहारको घटनाबारे हालसम्म राउटे समुदायलाई जानकारी दिइएको छैन ।

प्रदेश अस्पताल सुर्खेतमा उनीको स्वास्थ्य परीक्षण भएको राउटे पीडित युवतीहरूको लागि गठित ‘काउन्सेलिङ तथा घटना अनुसन्धान समिति’का सदस्य नगेन्द्र उपाध्यायले जानकारी दिए ।

जेठ २१ गते राती गुर्भाकोट नगरपालिकाका दुईजना युवाहरुले राउटे युवतिमाथि यौन दुर्व्यवहार गरेका थिए । सामाजिक सञ्चालमा यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते मात्रै घटना सार्वजनिक भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित मनकामना होटल सञ्चालक विनोद पुन, दोमनबहादुर घर्ती र भूपेन्द्र बुढा पक्राउ परेका छन् ।

२१ गते राति ९ बजेतिर यौन दुर्व्यवहार भएको छानबिनमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन् । दोषीहरुले पहिलेदेखि नै युवतीहरुसँग टिकटक भिडियोहरु बनाउने गरेको पाइएको छ ।

फिरन्ते जाति राउटे समुदायको बस्ती गत सोमबारदेखि नै सिल गरिएको छ । राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको हो ।

बस्तीमा अन्य समुदायका नागरिकले घटना अन्त पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस