पूर्व स्वास्थ्यमन्त्री बोहरा भन्छन्, अस्पतालहरूले नयाँ बिरामी लिन नमान्नु गैरजिम्मेवार कार्य

Dipak bohora

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराले देशभर अक्सिजनको अभाव भइरहेका बेला अक्सिजनमा कालोबजारी गर्ने र समयमै अक्सिजन उपलब्ध नगाराउनेलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

रूपन्देहीको बुटवलमा ५ जना र सिद्वार्थनगरमा ४ जना कोरोना संक्रमित बिरामीको समयमा अक्सिजन नपाएर नै ज्यान गएपछि पूर्व स्वास्थ्यमन्त्री बोहराले लापरवाहीकै कारण सो संक्रमितको अकालमा मृत्यु भएको बताएका छन् ।

उनले यसलाई सरकारको गम्भीर लापरवाहीको परिणाम भएको उल्लेख गरेका छन् । उनले समयमै अक्सिजन उपलब्ध गराउन नसकेकोमा सरकारको आलोचनासमेत गरेका छन् ।

‘कोरोनाको दोश्रो लहरको भयावह स्थितीमा अक्सिजनको प्रयाप्त व्यवस्था गर्न नसक्नु र अस्पतालहरूले अक्सिजनको कारणले नयाँ बिरामी लिन नसक्ने जस्तो सुचना प्रकाशित गर्दा समेत त्यसको व्यवस्थापन गर्न नसक्नु भनेको सरकारको लाचारीपना र गैरजिम्मेवार कार्य हो’ उनले भनेका छन्, ‘यसको म घोर भत्सर्ना गर्दछु ।’

उनले अहिलेको मुख्य कार्य भनेको जनताको जीवनको सुरक्षा गर्नु भएकाले प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो सम्पुर्ण श्रोत र साधनको प्रयोग कोरोना महामारीको नियन्त्रण र नागरिकको जीवन रक्षामा लगाउन आग्रह गरेका छन् ।

समयमा अक्सिजन उपलव्ध हुन नसकेको घटनाको छानविन गरी दोषि माथी कारवाही गर्न समेत स्थानीय प्रशासनलाई आग्रह गर्दै बोहराले अक्सिजन र उपचार नपाई नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नसमेत सरकारसँग माग गरेका छन् ।

उनले खोप नलगाएकालाई लगाउने व्यवस्था गर्न र पहिलो कोभिसिल्डका खोप लगाएकाहरूलाई तत्काल दोश्रो खोपको व्यवस्थाको गर्न माग पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस