पशुपति आर्यघाटमा कहाली लाग्दो दृष्य : वाग्मती किनारमै जलाउन थालियो संक्रमितको शव

Pashupati corona sub

काठमाडौं । केही दिनअघिसम्म नेपालको छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव जलाउने ठाउँसमेत नभएको दृष्यले सबैलाई त्रसित बनाएको थियो । ठकि त्यसैगरी नेपालको संघीय राजधानी काठमाडौंमा पनि कोरोना संक्रमतिको शव वाग्मती किनारमै जलाउन थालिएको छ ।

पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वाग्मती किनारमै शव व्यवस्थापन गरिएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गर्न नसक्ने भएपछि नजिकै वाग्मती नदी किनारमा पनि जलाउन थालिएको छ ।

सोमबार वाग्मती किनार र नदीको बीच भागमा रहेको ढिस्कोमा समेत शव जलाइएको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ ।

आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सोमबार दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापनका लागि अनुरोध आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार वैशाख १६ गते २३ तथा १७ र १८ गते २६र२६ जनाको शव व्यवस्थापन गरिएको थियो ।

विद्युतीय शव दाहगृहमा एउटा शव व्यवस्थापन गर्न डेढ घण्टा लाग्छ । व्यवस्थापन गर्नुपर्ने शव बढ्दै गएपछि विद्युतीय शवदाह गृहबाट मात्र सम्भव नहुने भन्दै सेनाले बाग्मती किनारमा नै शव जलाउन थालेको हो । संक्रमितको शव व्यवस्थापनका लागि सेनाले शवदाह गृह नजिकै वाग्मती नदी किनारमा ८ वटा चिता बनाउने तयारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस