‘फ्लोर क्रस’ गर्ने ३ जनालाई मन्त्री बनाए कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले

Floor cross samsad

सुर्खेत । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरिएको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । यी तीनैजना एमालेका सांसद हुन् ।

एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए । ३९ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् ।

नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिए र सरकार जोगियो ।

एमाले प्रदेश कमिटीले शनिबार नै फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

शनिबार मात्र एमाले प्रदेश कमिटीले तीनैजनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । अहिले कर्णाली सरकारमा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन् ।

प्रतिकृया दिनुहोस