सीसीएमसीको निर्णय : शहरी क्षेत्रका विद्यालय कम्तीमा ३० दिन बन्द

Ccmc ktm

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ ।

सीसीएमसीको शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको छ ।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ ।

सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा समेत अलमल गर्दै आएको थियो । तर, सीसीएमसीले कम्तीमा ३० दिनसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ । सिसिएमसीले गरेको सिफारिस भने अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ ।

यसैबीच सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ । बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन भने १४ जिल्लाका विद्यालयमा नजान आग्रह मात्रै गरेपछि आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको अवस्था छ ।

प्रतिकृया दिनुहोस