बाँके सवारी दुर्घटना : मृतक सबैको सनाखत, ३७ घाइते

Accident kohalpur

नेपालगन्ज । शुक्रबार कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुन्ज सडक खण्डमा टिपर र बसको ठोक्किँदा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको थियो ।

शुक्रबार बेलुकी सुर्खेतबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको ९अनटेस्ट० टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुने ५ मध्ये ४ जनाको शुक्रबारै सनाखत भएको थियो । शनिबार सनाखत हुन बाँकी थप एक जना महिलाको पनि सनाखत भएको छ । सिराह सुखीपुर गाउँपालिका–३ घर भएकी ३२ वर्षिया अम्बिका कान्तिको दुर्घटनामा मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले बताए ।

डिएसपी खनालका अनुसार मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालको शुक्रबार नै सनाखत भइसकेको छ ।

खनालका अनुसार दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि दुईवटा क्रेन र तीनवटा स्काभेटर प्रयोग गर्नुपरेको थियो । उद्धारका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सो दुर्घटनामा परी टिपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको खनालले जानकारी दिए । घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याइएको थियो । सो घटनामा परी ३७ जना घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस