कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

Mahendra bdr shahi1 1

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । आज सुरु हुने प्रदेशसभाको सातौँ अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् । दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठकमा सरकारले दुईवटा अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी बाध्यताका कारण आज विश्वासको मत लिन लागेका हुन् ।

माओवादीको हिजो बसेको संसदीय दलको बैठकले प्रदेशसभामा विश्वासको मत लिने र यसका लागि सबै दलहरुलाई विश्वासको मत दिन अपिल गर्ने निर्णय गरेको थियो। ३९ जना सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २० जनाको समर्थन चाहिन्छ ।

प्रदेशसभामा माओवादीका १२ जना सांसदमात्रै छन् । कांग्रेसका ६ जना र राप्रपाका एकजना सांसद रहेको प्रदेशमा एमालेका सभामुखसहित २० जना सांसद रहेका छन् । मुख्यमन्त्रीलाई अहिले मोटामोटी १९ जना सांसदको समर्थन रहने देखिन्छ ।

तर माओवादीले एमालेको असन्तुष्ट समूहका सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिने अपेक्षा गरेको छ । एमालेले भने मुख्यमन्त्रीले आज विश्वासको मत पाउन नसक्ने र आफ्नो नेतृत्वमा भोलि वा पर्सिमा नयाँ सरकार बन्ने अपेक्षा लिएको छ ।

प्रतिकृया दिनुहोस